प्युठानका कोरोना संक्रमितको बुटवलमा मृत्यु
१८ भदौ, रौतहट । प्युठनका एक कोरोना संक्रमित पुरुषको बुटवल अस्पतालमा मृत्यु भएको छ । प्युठानको स्वार्गद्धारी नगरपालिका वडा नं ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो ।
कलेजो र फोक्सोमा निमोनियाको समस्या रहेका ती पुरुष उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका थिए । उनको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
मुटु अस्पतालमा आउनुअघि उनले भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका अध्यक्ष आलमले जानकारी दिए । मुटु अस्पतालमा अर्का एकजना कोरोना संक्रमित पनि उपचाररत रहेका उनले बताए । स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले नगरपालिकाको वडा नं. ७ का ५८ वर्षीय पुरुषको मुटु अस्पतालमा मृत्यु भएको पुष्टी गर्दै नगरपालिकाका कोरोना संक्रमितको मृत्यु हुने संख्या २ पुगेको बताए ।
यसअघि वडा नं. ७ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो ।