किन कोदोखेती गर्ने चलन कम हुँदैछ ।
१८ भदौ, रौतहट । धानको बियाँ, चामलको कनिका र कोदोको कपनी यी शब्दले खाद्यान्नको सानो रुपलाई जनाउँछन् तर पछिल्लो पुस्ताका बालबालिकालाई यी शब्द नै नौलो लाग्न थालेका छन्। कतिपय बालबालिकालाई त धान फलेर (कुटेर) चामल निकालिन्छ भन्ने कुरा नै थाहा छैन । उनीहरुले सोध्ने गर्छन् चामलको बोट कस्तो हुन्छ, दिनहुँ भात खाने चामलका बारेमा त थाहा नहुने आजको पुस्तालाई कहिल्यै पनि नखाएको कोदोका बारेमा के थाहा होस्। कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले बजारी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कका लागि समेत दुर्लभजस्तै बन्दै गएको छ ।
कोदो फल्ने बारी थलिएको छ । वनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बारेकोट गाउँपालिका ३ का बलबहादुर बोहराले बताए । करीब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उनले बताए । काम गर्ने जनशक्ति नहुनु र खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन्। छेडागाड नगरपालिका ६ प्रकाश रोकायले बताए । उनको, घरमा पनि काम गर्ने मान्छे छैनन् ।
उनले परिवारमा श्रीमती, एक छोरा र बुहारी छन्। वर्षौं पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनका घरमा पछिल्लो समय एक गेँडा पनि छैन। कोदो फलाउने रहर भएर पनि बूढेसकालका खेती गर्न नसकेको उनले बताए । अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ। औषधीयूक्त गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको शिवालय गाउँपालिका ५ का पूर्णशमिर महताराले बताए ।
कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ। कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पीठो बनाएर खाने चलन हराउँदै गएको बारेकोट २ मानबहादुर विकले बताए ।
गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलले भने कोदोका परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन्। कोदोमा प्रसस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्व पाइने जाजरकोटका डाक्टरहरु बताउँछन् । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनीहरुको भनाइ छ ।