भारतमा पब्जी र अन्य ११७ एप प्रतिबन्धित
भदौ १८, रौतहट । चीन र भारतबीच तनाव बढिरहेको बेला दिल्लीले थप ११८ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाइएका एपमा चर्चित भिडिओ गेम पब्जी र विच्याट लगायत धेरै एप टेन्सेन्ट कम्पनीका उत्पादन छन्।
यसअघि भारत सरकारले टिकटक सहितका ५९ वटा निकै लोकप्रिय एपहरूलाई राष्ट्रिय सुरक्षाको सरोकार देखाउँदै प्रतिबन्ध लगाएको थियो। पछिल्लोपटक प्रतिबन्धित गरिएका एपले राष्ट्रिय स्वार्थविरुद्ध काम गरिरहेको ”विश्वस्त सूचना” आफूसँग रहेको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
प्रतिबन्धित एपहरू
प्रतिबन्ध लगाइएका अन्य केही प्रमुख एपहरूस :
- सर्च इञ्जिन बाइडुका दुईवटा एप
- क्यामकार्डको बिजनेस कार्ड स्क्यानर
- अलिबाबाको रकम भुक्तानीसम्बन्धी अलिपे
- विद्युतीय व्यापारसम्बन्धी ताओबाओ एप
- मार्भल सुपरवार सहितका खेलका एप
- सिना न्यूज
मन्त्रालयले ती एपबारे ‘विभिन्न स्रोतहरूबाट’ थुप्रै उजुरी परेको जनाएको छ। मन्त्रालयले ती एपले ”एन्ड्रोइड र आइओएसमा रहेका प्रयोगकर्ताका विवरणको दुरूपयोग र गोप्य एवम् अनाधिकृत रूपबाट भारतबाट बाहिर सारेको” उजुरी परेको जनाएको छ।
‘भारतको राष्ट्रिय सुरक्षा र प्रतिरक्षासँग जोडेर हेर्दा यी विवरणहरूको एकीकरण र प्रशोधनले भारतको सार्वभौमसत्ता र अखण्डता जोखिममा पुर्याउँछ,’ मन्त्रालयले भनेको छ।
‘त्यो निकै गहिरो र तत्काल असर पर्ने विषय भएकाले त्यसको आपत्कालीन उपाय आवश्यक परेको हो।’
अमेरिकाले हालै चिनियाँ एपहरूविरुद्ध कदम चालेको छ। उसले टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिँदै अमेरिकी कम्पनीहरूलाई टेन्सेन्टका विच्याट एपसँग कारोबार नगर्न आदेश दिएको छ। ह्वाइट हाउसका प्रेस सल्लाहकार पिटर नभारोले अमेरिकी प्रशासनले अन्य चिनियाँ एपप्रति पनि आफ्नो ध्यान खिचिएको बताएका छन्।
बीबीसी






