कोरोनाबाट थप दुई जनाको मृत्यु

   १८ भाद्र २०७७, बिहीबार १०:५७  

१८ भदौ, रौतहट । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । चितवनका एक जना र बसटवलका एक जना गरी थप दुई जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले दिएको जानकारीअनुसार उनमा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो । उनलाई उपचार गर्न भदौ ५ गते चितवन मेडिकल कलेजमा पु¥याइएको थियो ।

उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । अवस्था जटिल भएपछि ती महिलालाई आइसियूमा भेन्टिलेटरको सहायतामा राखिएको थियो । चितवनमा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ । तीमध्ये चितवनका मात्रै १० जना र अन्य जिल्लाका ८ जना छन ।

यस्तै, बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी ती महिलाको बुधबार साँझ नै जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकामा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।