कोरोना कहरमा पनि युरिया मल पाउने आशमा घण्टौं जमघट

   १७ भाद्र २०७७, बुधबार १३:५०  

१७ भदौ, रौतहट । धानखेती गर्नको लागि युरिया मल पाउने आशाले कोरोनाका माहामारीमा पनि किसानहरु घण्टौँसम्म भीडभाडमा पालो कुरेर बस्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका ६ गीतानगरमा आज बिहानैदेखि भीडभाड थियो ।

सर्वोदय बहुउद्देश्यीय सहकारीले १२० बोरा युरिया मल बाँड्दै थियो । मल लिन एक हजारभन्दा धेरै स्थानीय बिहान तीन बजेबाटै लाइन लागेका थिए । सहकारीले एक जनालाई १० केजीको दरले मल बाँड्यो । ६ सय जनाले मल पाए । अरु रित्तै फर्किए ।

चितवन जिल्लामा कोरोना भाईरस संक्रमणका कारण निषेधाज्ञा भएको छ । भेला, जमघट र हिँडडुल गर्न बन्देज छ । तर कोरोनाको जोखिम मोलेर लामबद्ध भएका किसानहरुमध्ये धेरैले मल नै पाएनन । पाएकाहरुले पनि आवश्यकताभन्दा एकदम न्यून पाए ।

सहकारीका सचिव होमनाथ अधिकारी कम्तीमा तीन चार हजार बोरा मल आवश्यक पर्ने बेलामा सय बोरा मल आएको बताउँछन ।