काठमाडौंमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

   १७ भाद्र २०७७, बुधबार १३:३२  

१७ भदौ, रौतहट । कोरोना संक्रमणका कारण काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा तनहुँकी २० वर्षीया युवती र काठमाडौँका ६५ वर्षीय वृद्ध रहेका अस्पतालका कोभिड कमिटीका सदस्य डा सविन थपलियाले जनाएका छन् । दुबै संक्रमितको मंगलबार बेलुका नै मृत्यु भएको थपलियाले जनाए ।

तनहुँ स्थायी घर भएकी युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन ।उनलाई संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो । काठमाडौंका वृद्ध भने १५ गते अस्पताल भर्ना भएका थिए । मधुमेह र रक्तचापको समेत रोगी रहेका उनलाई पहिलो दिनदेखि नै आइसियूमा भर्ना गरिएको थियो । डा. थपलियालको वृद्धको आइसियूमै उपचारको क्रममा मृत्यु भएको जनाए ।

दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ । मंगलबार राति नै वीरगन्जको कोरोना अस्तपालमा बाराका ९७ वर्षीय वृद्धको मृत्यु भएको थियो ।