कपिलवस्तुकी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, गण्डकीमा थपिए ३६ संक्रमित
१७ भदौ, रौतहट । कोरोना संक्रमणका कारण कपिलवस्तुकी एक महिलाको बुटवलमा मृत्यु भएसंगै कास्कीका २० प्रहरीसहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।
कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको डा. गौतमले जानकारी दिए ।
यस्तै, गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित ३६ जना कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ महिलासहित २३ जना कास्कीका रहेका छन् भने ४ महिलासहित ७ जना नवलपुरका, दुई महिला र दुईजना पुरुष गरी ४ जना लमजुङका र एकरएकजना महिला र पुरुष गरी दुईजना तनहुँका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कास्कीका संक्रमितमध्ये २० जना नेपाल प्रहरीमा कार्यरत र एकजना स्टाफनर्स भएको निर्देशनालयले जनाएको छ । लमजुङ सुन्दर बजारका एकजना पुरुष ओमनबाट आएका हुन । निर्देशनालयका अनुसार अन्य संक्रमितहरु भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन।