पर्सा र बारामा थपिए ६४ कोरोना संक्रमित

   १७ भाद्र २०७७, बुधबार ११:४६  

१७ भदौ, रौतहट । पर्सा र बारामा गरी थप ६४ जनामा कोरोना भाईरस (कोभिड १९)कासंक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा ४ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ६४ जना कोरोना रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रवक्ता एवम वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

५ देखि ७० वर्ष उमेर समूहका संक्रमितमध्ये ३६ जना महिला छन । पर्साका १३ र बाराका ५० जना संक्रमित छन । गण्डक अस्पतालबाट पठाइएको एउटा स्वाब नमुनाको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको डाक्टर चौरसियाले बताए ।

वीरगञ्ज वडा नं. ४ मा २ जना, वडा नं. १२ र १८ मा १÷१ जना, बहुदरमाई नगरपालिकाको वडा नं. ४ मा ५ जना, वडा नं. ५ मा १ जना र वडा नं. ६ मा २ जनामा कोरोना देखिएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं. १ का ५ जना, वडा नं. ७ का ५ जना, वडा नं. २३ का ३ जना, वडा नं. २ मा ६ जना, वडा नं. ४ मा ६ जना, वडा नं. ३, ६, ८, ९ र २१ मा १÷१ जना, वडा नं. २० मा ४ जना र वडा नं. ५ मा ७ जनामा कोरोना देखिएको छ । संक्रमित ३ जनाको ठेगाना पहिचान हुन सकेको छैन । यसअघि पर्सामा ४ सय ९३ जना महिलासहित २ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भइसकेको छ ।