कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

   १७ भाद्र २०७७, बुधबार १०:४१  

१७ भदौ, रौतहट । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भइको छ । वीरगञ्जमा एक जना र भैरहवामा एकजना गरी थप दुई जनाको मृत्यु भएको छ ।

बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो ।

उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । ‘मुटु रोग, दम र उच्च रक्तचापको समस्या पहिलेदेखि नै रहेछ । योसंगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ५५ पुगेको छ । साउनयता मात्रै ५१ जनाको मृत्यु भएको छ । मृत्यु भएका ५५ जनामध्ये पर्साका ३९ जना, बाराका १२ जना र रौतहटका ४ जना छन । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

त्यस्तै, भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो ।

भदौ १५ गते अस्पतालमा भर्ना भएकी महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले पुष्टि गरेका छन् ।

ती महिलामा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले आइसियूमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सुमित प्रजापतिका अनुसार ५ वटा आइसियू बेड रहेको भीम अस्पतालमा ४ जना आइसियुमा उपचाररत छन । अन्य १७ जना आइसोलेसन बेडमा छन ।
भीम अस्पतालमा यसअघि गैडहवा गाउँपालिका–३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।