प्रहरीको यातनाले उजाडिएको बिजय रामको परिवार
१६ भदौं, रौतहट । रौतहटको मध्य बजार गरुडा नगरपालिका वडा नंं. ८ को जिगंडिया टोलको दलित बस्तीमा भएको पनीलाल रामको घरमा शोक छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनका छोरा बिजय रामको प्रहरी हिरासतमा मृत्यु भए पछि यस घरको दियो निभेको छ ।
४६ वर्षिय पनीलाल रामको जेठो छोरा विश्वजीत रामको मृत्यु भएको एक वर्ष पनि नपुग्दै उनका कान्छा छोरा बिजय रामको मृत्यु भयो । “जेठो छोरा विदेश बाट फर्केर आए पछि ०७६ सालको फागुन १४ गते मर्यो ।” पनीलाल रामले भने “ जेठो छोराको मृत्यु भएको एक वर्ष नबित्दै प्रहरीको कारण मैले कान्छो छोरा पनि गुमाए ।” हत्या भएका निरजंन राम र हिरासतमा मृत्यु भएका बिजय रामको घरको दूरी २० मिटर पनि छैन । मामाको छोरा भएकाले नातामा दुवै दाजुभाई हुन ।
“मेरो सालो नन्दलालको छोरा निरंजनको हत्या भए पछि हामी आफै शोकमा थियौं ।” पनीलालले भने “हत्या भएको तिन चार दिन पछि राति घरभरी प्रहरी आए । किन आएको भन्ने पनि बुझ्न नपाउदै उनीहरुले बिजयलाई नियन्त्रणमा लिए ।” घर भरी प्रहरी आएर कुटपिट गर्दै बिजयलाई घिसार्दै लिएर गएको सम्झदै पनीलाल रामले सुनाए “नर्सरीवालाले दिएको पैसामा प्रहरीले बिक्यो । मेरो छोरालाई घरबाट लिएर जादा सद्दे थियो, केही भएको थिएन । तिन दिनमै दुवै किडनी एकैचोटी बिग्रेर मान्छे मर्यो भन्दा हामी दलितले पत्याइदिनु पर्ने बेला आयो ।”
संयोग पनि कस्तो पनीलालको जेठो छोराको मृत्यु भएकै दिन कान्छो छोराको छोरी जन्मीएको थियो । दाजुको मृत्यु भए पछि बिजयले नै भाउजु सुनिता देवीलाई पनि सँगै राखेका थिए, उनको काँधमा दाजुको तिन छोराहरु र आफ्नो एक छोरीको पालनपोषणको जिम्मा थियो । बिजयकी श्रीमती निलम देवी केही बोल्न नसक्ने अवश्थामा छिन । घरबाट प्रहरीले लग्दा केही नभएको मान्छे तिन दिनमै बितेको उनले अझै पत्याएकी छैनन ।
मृतक बिजयकी आमा दुई बुहारी र नाती–नातिनाहरुलाई हेर्छिन, एक्लै टोलाउछिन । छोराको मृत्यु पछिको पाँच दिन सम्म आमाले अन्नको एक दाना समेत मुखमा राखेकी छैनन । “हामी गरिब दलितको छोराले प्रहरीको के बिगार गरेको थियो ?” आमा किशुनबती देवीले भनिन “न्याय गर्ने प्रहरीले नै अन्याय गर्यो । हाम्रो संसारै उजाड बनाइ दियो । मेरो छोरालाई कुटेर मार्नेहरुले कहिल्यै शान्ती पाउने छैन ।”
६ वर्ष मुनीका चार बालबालिका रहेको परिवारमा अब आठ जना सदस्य छन । जग्गा जमिन र आम्दानीको श्रोत समेत नभएको परिवारमा छोराको मृत्युले ठूलो समस्या उत्पन्न भएको छ । मृतक बिजयको सात महिनाको छोरी अनुले पिता गुमाएकी छिन । “यि बालबच्चको भरणपोषण अब कसले गर्छ ?” किशुनबति देवीले भनिन “ अब हामी बेसहारा भएका छौं । हाम्रो जीवन समाप्त भएको छ ।”
“मेरो छोरा निरजंन रामको हत्या भए पछि प्रहरीले मेरै आफन्त र नातेदारहरुलाई हैरान बनाउन थाल्यो ।” हत्या गरिएका निरजंन रामका बुवा नन्दलाल रामले भने “पैसा भए पछि जे पनि गर्दा हुने रहेछ । हत्या गराउन लगाउने नर्सरीवालासँग लाखौं रुपैंया लिएको डिएसपी ज्ञानकुमार महतोले निर्दोष दलितलाई नै फसाएको हो ।” प्रहरीले गरेको अनुसंधान प्रति उनको पनि चित बुझेको छैन ।
साउन ३१ गते राति बिजय रामको मामाको छोरा २० वर्षिय निरंजन रामको विभत्स तरीकाले हत्या भए पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ गरेर हिरासतमा लगेपछि बिजयले पाएको यातनाका कारण उपचारको क्रममा वीरगंजको नेशनल मेडिकल कलेजमा १० भदौंमा मृत्यु भएको थियो । एउटै टोलको दुई युवक गुमाउनु पर्दा जिगंडियाको दलित बस्ती शोकमा डुबेको छ ।
मृत्यु अघिको बिजयको बयान
अस्पतालको शैयामा असह्य पीडाका बिच बारेमा उनले एक भिडियोमा सबै कुरा बताएका छन । नेशनल मेडिकल कलेज वीरगंजमा मृत्युको केही घण्टा अगाडि रेकर्ड भएको सो भिडियोमा उनले प्रहरीले आफूलाई जबरजस्ती अपराध स्वीकार गर्न यातना दिएको बताएका छन ।
भिडियोमा उनले ईलाका प्रहरी कार्यालयको हिरासत कक्षमा उनलाई दुवै हातमा करेन्ट लगाएको, पाइप तथा लठीले हान्दै हत्याको अभियोग स्वीकार गर्न दबाब दिएको बताएका छन । पक्राउ गरेर लगेको दुइ दिन सम्म डिएसपी र सादा पोशाकमा रहेका प्रहरीहरुले लगातार कुटपीट गरेको उनले बताएका छन । हिरासतमा प्रहरीले आफूलाई बुटले छातीमा हानेको बताएका बिजय रामले प्रहरीले जबरजस्ती हत्या आरोप स्वीकार नगरे तिम्रो लाश मात्रै बाहिर निस्कीन्छ भनेको भिडियोमा बताएका छन ।
प्रहरीले जति कुटे पनि नगरेको अपराध आफूले स्वीकार्न बिजयले इन्कार गरेका थिए । प्रहरीले यातना दिदा उनले हरेक पटक आफूले मृतक निरजंन मामाको छोरा थियो भनेर बताएका थिए ।