बिजय राम हत्या प्रकरण, रौतहटका एक इन्सपेक्टर सहित तिन प्रहरी निलम्बीत
१६ भदौं, रौतहट । ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका कैदीको मृत्यु भए पछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक सहित तिन प्रहरीलाई निलम्बन गरिएको छ ।
कर्तव्य ज्यान मुद्दाको अभियुक्त गरुडा ८ जिगंडियाका १९ वर्षिय बिजय रामको भदौ १० गते उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगंजमा मृत्यु भएको थियो । बिजय राम सँगको सोधपुछका क्रममा खटिएका प्रहरी निरिक्षक नविन कुमार सिंह, प्रहरी हवल्दार हिरोज मिया धुनिया र मुन्ना सिंहलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खडकाले बताए ।
प्रहरी हिरासतमा निर्मम यातनाका कारण उनको मृत्यु भएको परिवारजनको आरोप रहेको छ । मृत्यु भन्दा पहिलेको एक भिडियो सन्देशमा समेत बिजय रामले आफूलाई ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा करेन्ट लगाएर, लठी र पाइपले कुटदै अपराध स्वीकार गर्न प्रहरीले यातना दिएको बताएका थिए । मृतक रामको शरीरमा निलडाम तथा घाँउचोट समेत रहेको थियो ।
गृह मन्त्रालय सचिवस्तरको निर्णय बाट तिनै जनालाई घटनाको अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिनाको लागी प्रहरी नियमावलि २०७१ नियम ११५ को देहाय (४) बमोजिम निलम्बन गरिएको प्रहरी उपरिक्षक खडकाले बताए ।
हिरासतमा मृत्यु भएका युवकका परिवारजन तथा स्थानियले पाँच दिन देखि ईलाका प्रहरी कार्यालय गरुडा अगाडि लगातार प्रर्दशन तथा रिले अनसन गरेका छन । प्रहरीले इन्स्पेक्टर र हवलदारलाई निलम्बन गरेको तथा तत्कालीन इन्चार्ज डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश कार्यालयमा तानेर कुनै कारवाही नगरेको भन्दै परिवारजनले आपती जनाएका छन ।






