रुपन्देही र गण्डकी प्रदेशमा गरी थप १०२जनामा कोरोना पुष्टि

   १६ भाद्र २०७७, मंगलवार १३:०४  

१६ भदौ, रौतहट । नेपालमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीका ६३ जना र गण्डकी प्रदेशका ३९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा जिल्लाका चार स्थानीय तहका ६३ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालको प्रयोगशालाका अनुसार बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार राति रिपोर्ट आएकाले स्थानीय तहहरुले वडागतरुपमा संक्रमितहरुको तथ्यांक तयार गर्ने क्रममा रहेको जनाएका छन । तिलोत्तमाका नयाँ संक्रमितहरु सबैजना कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु रहेका नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ६४ पुगेको छ । प्रादेशिक अस्पतालमा सोमबार राति आएको रिपोर्टमा ६ जना संक्रमित कपिलवस्तुका पनि रहेका छन ।

यस्तै, गण्डकी प्रदेशमा मंगलबार १४ दिने नाबालकसहित थप ३९ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका हुन ।

लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा दुईजना र बागलुङमा एकजना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, जमजुङका एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत रहेका छन । उनीहरु सबैकै पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो । संक्रमण पुष्टि भएका एकजना नेपाल पर्यटन बोर्ड, पोखराका पदाधिकारी हुन ।

उनको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२०५ पुगेको छ ।