बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्दाँ ४ जना घाइते, एक जनाको मृत्यु
१६ भदौ, रौतहट । बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा खस्दाँ पाँच जना घाइते भएका छन् । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन ।
ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई आज बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका २ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर र सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन । घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए, साथै अन्यको अवस्था मध्यम रहेको छ ।
घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ । दुर्घटनास्थलमा अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट चार जनाको टोली र विपद व्यवस्थापन तालिम केन्द्रबाट सशस्त्र प्रहरी निरीक्षक अजय थापाको नेतृत्वमा ९ जनाको टोली उद्धारमा खटिएको थियो ।
सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको प्राथमिक उपचार पनि गरेको थियो ।