कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु

   १६ भाद्र २०७७, मंगलवार ११:०७  

१६ भदौ, रौतहट । कोरोना भाईरस (कोभिड १९)का संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ । धरानका एक जना, चितवनका चार जना र वीरगञ्जका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिका ६ निवासी कोरोना संक्रमित एक पुरूषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । एक साताअघि अस्पतालमा भर्ना भएका ६५ वर्षका पुरुषको सोमबार राति ९ बजेतिर मृत्यु भएको हो । आइसियूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका विरामीसमेत थिए । योसँगै सिरहामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यस्तै, चितवनको चितवन मेडिकल कलेजमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेहरुमध्ये हेटौंडा उपमहानगरपालिका १५ का ५८ वर्षीय पुरूषको  भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका ११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिलाको मृत्यु छन ।

उनीहरूमध्ये तीन जनामा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीहरूका आफन्तले अस्पतालमा दिएको जानकारी अनुसार दुई दिन अघिसम्म उनीहरूमा स्वास्थ्य सम्बन्धी खासै समस्या थिएन ।

त्यस्तै, अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो तीन जनाको मृत्यु भएसंगै एक जनाको गएराति मृत्यु भएको हो । कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार ६५ वर्षीय पुरूषमा कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार (हिजो) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै चितवनमा कोरोनाबाट संक्रमितको मृत्युु हुने संख्या १७ पुगेको छ । मृत्यु हुनेमा चितवनका ९ र मकवानपुरका ४ जना छन ।

यसैगरी, वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु भएको हो ।

बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । बाराका ६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते नै अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए ।

उपचारकै क्रममा मंगलबार बिहान ४ः५० बजे उनको मृत्यु भएको चौरसियाको भनाइ छ । उनले भने, ‘शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएकाले फूल अक्सिजनमा राखिएको थियो । अन्तमा रेक्सपाइरोटरी फेलियर भयो । बचाउन सकिएन ।’ पहिचान नखुलेका अर्का पुरुषको सोमबार बेलुका ८ः४५ मा मृत्यु भएको थियो । सामान्य ज्वरो र कमजोरीको समस्या रहेका उनको नारायणी अस्पतालको इर्मजेन्सी वार्डमा उपचार भइरहेको थियो ।

भदौ १३ गतेदेखि नै इर्मजेन्सीमा उपचाररत उनको मृत्युपछि जीन एक्पर्ट विधिबाट कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । साउनयता मात्रै ५० जनाको मृत्यु भएको छ ।

मृत्यु भएका ५४ जनामध्ये पर्साका ३९ जना, बाराका ११ जना र रौतहटका ४ जना छन । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन।