रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न भएका दुई आरोपी पक्राउ
१५ भदौ, रौतहट । रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न भएका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको माधवनारायण नगरपालिका २, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल रहेका छन । भारत बिहारको पूर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट भारतिय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनिहरुलाई पक्रेर रौतहट ल्याएकोे प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।
तर, हाल पक्राउ परेको दुवै जनाले अभियोग स्वीकारिसकेको छैनन् । प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन ।
यस्तै प्रारम्भिक अनुसन्धानमा पुजारी श्रीराम शाहको हत्यामा धार्मिक कारण नदेखिएको प्रहरी स्रोतले बताए । गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । प्रकरणको एक साता वितिसक्दा पनि अनुसन्धानमा प्रहरीले सफलता हात पार्न नसकेको भन्दै नागरिकले विरोध जनाइरहेका थिए ।