रौतहटमा बढयो अपराध, तिन सातामा चारको ज्यान गयो

   १५ भाद्र २०७७, सोमबार ०९:३५  

१५ भदौ, रौतहट ।  रौतहटमा पछिल्लो समय एक पछि अर्को हत्याको क्रम रोकिएको छैन । आइतवार साँझ एक दलित महिलाको हत्या भए पछि १६ दिन भित्रमा ज्यान गुमाउनेको सँख्या चार पुगेको छ ।

हिजो साँझ गढीमाई नगरपालिका ३ मुसरिया गाँउको उँखु खेतमा एक महिलाको शव फेला परेको थियो । उँखु बारीमा घाँस लिन गएकी ४० वर्षिया मिन्त्रा देवी बैठाको शव खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । खाना खाएर बिहान १० बजे घाँस काटन गएकी मिन्त्राको घाटी सारीले बाधेको अवश्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खडकाले बताए ।
घटनाको अनुसन्धानको लागी डिएसपी भरत श्रेष्ठको कमाण्डमा टोली खटिएको एसपी खडकाले बताए ।

तिन सातमा चारको ज्यान गयो

साउन ३१ गते राति निरन्जन रामको हत्या बाट शुरु भएको अपराधको सिलसिला अझै रोकिएको छैन । रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षिय निरजंन रामको घाटी रेटेर हत्या भएको चार दिन पछि भदौ ३ गते राति रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दीरका पुजारी श्रीराम साहको हत्या भयो ।

पुजारी हत्याको अनुसंधान अझै निष्कर्षमा पुग्न नसकेकै बेला निरन्जन रामको हत्याको अभियोगमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका गरुडा जिगंडवाका १९ वर्षिय बियज रामको ज्यान गयो । प्रहरी हिरासतमा रहदा निर्मम यातना भोगेका बिजयको मृत्यु पछि स्थानियले प्रहरी विरुद्ध गरेको प्रर्दशनको क्रम सेलाउन नपाउदै आइतवार साँझ मिन्त्रा देवी बैठाको शव फेला परेको हो ।

ज्यान गुमाएका चार मध्ये निरन्जन, बिजय र मिन्त्रा देवि बैठा तिनै जना दलित समुदायका हुन । हिरासतमा ज्यान गुमाएका बिजय रामको विषयमा पछिल्लो समय गरुडामा परिवारजन, स्थानिय र दलित अगुवाहरुले प्रहरी विरुद्ध लगातार प्रर्दशन गरेका छन ।

विरोध प्रर्दशनकै कारण ईलाका प्रहरी कार्यालय गरुडाका इन्जार्च डिएसपी ज्ञान कुमार महतोको जिम्मेवारी खोसेर उनलाई प्रदेश प्रहरी कार्यालय तानिएको छ भने घटनाको अनुसन्धानका लागी गृह मन्त्रालयले तिन सदस्यीय छानबिन समिति बनाएको छ । गृहमन्त्रालयका उपसचिवको संजोजकत्वमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसंन्धान कार्यालयका उपरिक्षक समेतको समिति गठन भएको हो ।