दोषी प्रहरीहरुलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति माँग गर्दै गरुडामा प्रर्दशन
१४ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका विजय राम महराको प्रहरीको कुटपिटबाट नै मृत्यु भएको भन्दै दोषि प्रहरीहरुलाई कारवाही गर्ने पीडित परिवारको माँग छ ।
साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षिय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय राम महराको हिरासतमा रहेको बेला नै स्वास्थ्यमा समस्या आएपछि र उनका किडनीमा पनि समस्या रहेकोले उनलाई थप उपचारको लागी वीरगंजको नेशनल मेडिकल कलेजमा लगिएको थियो ।
तर, उपचारको क्रममा विजयको मृत्यु पछि, स्थानिय दलित समुदायले प्रहरीकै कुटपीटबाट नै विजयको मृत्यु भएको आरोप लगाएका छन । वास्तवीक दोषीको सट्टा दलितहरुलाई पक्राउ गरेर अन्याय गरेको भन्दै दलित अगुवाहरुले इलाका प्रहरी कार्यालय गरुडा अगाडी स्थानियहरुले प्रहरी विरुद्ध नारावाजी गर्दै प्रर्दशन समेत गरेका छन ।
प्रहरीले भने किडनी बिग्रीएको कारण रामको मृत्यु भएको दाबी गरेको छ, भने स्थानियले आर्थिक प्रलोभनमा फसेको प्रहरीले यातना दिएको आरोप लगाउदैँ दलित युवकको मृत्यु पछि आक्रोशित भएका स्थानियले गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई तत्काल कारवाही गर्दै निलम्बन गर्न माँग गरेका छन् ।
“ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले चरम यातना दिएर मेरो छोरा मारेको छ ।” मृतक विजयका बुवा पनिलाल रामले भने “लाखौं रुपैंया बुझेका प्रहरी अधिकारीहरुले अरुलाई जोगाउन मेरो छोरालाई निर्ममतापूर्वक कुटेको दाग शरीर भरी रहेको छ ।” साथै आफ्नो छोरालाई घरबाट जुन अवश्थामा पक्राउ गरेर प्रहरीले लगेको थियो सोही अवश्थामा छोरा फिर्ता चाहिने पनिलाल रामको माँग छ।
यस्तै घटनाका दोषी प्रहरी अधिकृतहरुलाई तत्काल निलम्बन गरेर कारवाही अगाडी बढाउन दलितहरुको माँग गरेका छन । यसैगरी हिरासतमा रहेका रामको मृत्यु पछि विभिन्न सँघसंस्था तथा राजनितिक दलहरु छुट्टाछुट्टै विज्ञप्ती निकालेर संलग्न प्रहरीलाई कारवाहीको माँग गरेका छन । दोषी प्रहरीहरुलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ ।”
दोषि प्रहरीहरुलाई कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्ति पाउनु पर्ने पीडित परिवारको माँग छ ।