रौतहटमा थप २१ गतेसम्म निषेधाज्ञा जारी
१४ भदौ, रौतहट । कोरोना भाइरस (कोविड १९) को संक्रमण समुदाय स्तरमै दिनानुदिन फैलिन थालेपछि रौतहट प्रशासनले थप ७ दिनको लागी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीयका लागि प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम भदौ १४ देखी २१ गते सम्मका लागी रौतहट जिल्ला भरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । ऐम्बुलेन्स, शव वाहन, खाद्द सामाग्री ढुवानीको साधन, निर्माण सामाग्री ढुवानीको साधन, कुखुराको चल्ला, पशुपन्छीको दाना बोकेको सवारी साधन, स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य कालो नम्बर प्लेटको सार्वजानिक यातायातका सवारी साधन र अनुमती प्राप्त नगरेको सबै प्रकारका सरकारी तथा निजी सवारी साधन र सेवालाई पनि निषेध गरिएको छ, सवारी पास प्राप्त सवारी साधनलाई मात्र संचालनको अनुमति दिएको छ ।
यस्तै, प्रत्येक दिन विहान ७ बजेदेखी बिहान १२ बजेसम्म अतिआवश्यक खाद्दान सामाग्री, दैनिक उपभोग्य तथा निर्माण पसल लगाएत बैँक तथा बित्तिय संस्थाहरु विहान ७ बजेदेखि १२ बजेसम्म संचालन हुने छ ।
त्यसैगरी, होटल, रेष्टुरेन्ट, ब्यूटी पार्लर, सैलुन, जिमखाना, लगाएत मठ मन्दिर, मस्जिद, खेल मैदान या कुनै पनि सार्वजनिक स्थलमा भेला गर्नुमा रोक लगाएको छ ।
भारत लगायतका अन्य मुलुकबाट हुने सबै प्रकारको अवागमनलाई रोक लगाएको र सिमा नाकाहरु पूर्ण रुपमा सील हुने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । निषेधाज्ञाको उल्लंघन गर्नेलाई ऐन बमोजिम कारवाही हुने समेत उनले बताए ।
यस्तै, बिक्रेता तथा उपभोक्ताहरुले अनिवार्य स्यानिटाइजर, मास्क तथा पन्जाको प्रयोग गरी भौतिक दुरी कायम गर्नको लागि जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।