कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, वीरगञ्जमा थपिए ८० कोरोना संक्रमित

   १४ भाद्र २०७७, आईतवार ११:५१  

१४ भदौ, रौतहट । कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । रौतहटका एक जना र ललितपुरका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुरानो मधुमेहका रोगी उनमा कडा कोभिड निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।खोकी र दमले श्वासप्रश्वासमा समस्या भएपछि उनलाई नारायणीमा अस्पतालमा उपचारका लागि उनलाई ल्याइएको थियो ।

यस्तै, ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उनको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनमा अन्य रोग पनि थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । साथै उनको ट्राभल हिस्ट्रीबारे पनि अहिले थाहा हुन सकेको छैन ।

त्यस्तै, वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका ८० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
संक्रमितमध्ये ४७ जना पर्साका, ३० जना बाराका तथा मोरङ र काठमाडौंका–१र१ जना छन । पर्साको पोखरियामा मात्रै १२ जनामा संक्रमण देखिएको छ, भने बाँकी वीरगञ्ज महानगरपालिकाका संक्रमित छन ।
बाराको विश्रामपुर गाउँपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २ जना, जीतपुर सिमरा उपमहानगरपालिकाका–२ जना र कलैया उपमहानगरपालिकाका विभिन्न वडामा संक्रमित भेटिएका छन । संक्रमितमध्ये २ जनाको उमेर खुलाइएको छैन ।