पर्साका ३१ जना सहित थप ५० जनाको कोरोना रिपोर्ट पोजेटिभ

   १३ भाद्र २०७७, शनिबार १२:०३  

१३ भदौ, रौतहट । प्रदेश नम्बर २ को विभिन्न स्थानबाट आएको स्वाबका नमुनाहरुलाई नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पर्साका ३१ जना सहित थप ५० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश नम्बर २ को पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाही र काठमाडौंका बासिन्दामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालमा शुक्रबार ४ सय ४३ जनाको स्वाब परीक्षण गर्दा ५ महिलासहित थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालले शुक्रबार अबेर राति सार्वजनिक गरेको विवरण अनुसार पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिका गरी ३१ जनामा सङ्क्रमण देखिएको छ । जसमा पोखरियाका १० जना, कालीकामाईका ३ जना र बाकी सबै वीरगञ्जको विभिन्न वडाका बासिन्दा हुन ।

त्यसैगरी बाराका ८ जना, धनुषाका ४ जना, महोत्तरीका ३ जना, रौतहटका १ जना, सर्लाहीका २ जना र काठमाडौँमा १ जनामा पनि सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमितमा १५ वर्षका युवादेखि ५६ वर्षका वृद्धसम्म रहेका छन ।