कोरोनाबाट थप ४ जनाको मृत्यु
१३ भदौ, रौतहट । कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । वीरगञ्जमा २ जना, धरानमा १ जना र चितवनमा १ जना गरी नेपालमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
वीरगञ्ज १२ बस्ने ४३ वर्षीय र वीरगञ्ज २६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४८ जना पुगेको छ । पर्साका मात्रै ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।
ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । मृतकमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
त्यसैगरी चितवनको चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका ५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।
कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिला मिर्गौला रोगबाट पीडित थिइन । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चितवनमा कोरोनाबाट ९ जनाको मृत्युु भएको छ । जसमा चितवन जिल्लाका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एक–एक जना रहेका छन ।