बाँकेमा जबरजस्ती करणी गरेको आरोपमा मन्दिरका पुजारी पक्राउ

   १२ भाद्र २०७७, शुक्रबार १६:०८  

१२ भदौ, रौतहट । बाँकेमा झारफुक गर्ने बहानामा दुई महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मन्दिरका पुजारी पक्राउ परेका छन् ।

बिहीबार डुडुवा गाउँपालिका ५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी ४० वर्षीय नजिर मोहम्मदलाई इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मोहम्मदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटीमा बोलाएका प्रहरीले बताए । त्यहाँ उनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि प्रहरीले बिहीबार राति उनलाई पक्राउ गरेको हो । अहिले उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।