रौतहटमा बढदै हुण्डी कारोवार, दुई दिनमा ३४ लाख बरामद
१२ भदौं, रौतहट । लकडाउनका बेला नेपाल भारतको सिमा अहिले बन्द छ । सिमा बाट सबै किसिमको आवतजावतमा कडाइ गर्दै निषेध गरेको अवश्था छ । तर यहि लकडाउनकै अवधिमा नेपाल भारत सिमामा पैसा ओसारपसारको क्रम भने बढेको छ ।
सशस्त्र प्रहरी बलले विगत दुई दिनमा रौतहटको इशनाथ नगरपालिका ९ लवतनाबाट ३४ लाख ९१ हजार ९ सय ६० श्रोत नखुलेको रकम बरामद गरेको छ । हिजो बिहिवार २८ लाख ५१ हजार ९ सय ६० रुपैंया सहित सशस्त्र प्रहरीले भारतीय मोटरसाइकलमा सवार राजपुर ९ बैरियाका दिलिप कुमार साहलाई पक्राउ गरेको थियो भने आज बिहान लवतनाबाटै इशनाथ २ औरैयाका मनोज कुमार साहलाई श्रोत नखुलेको ६ लाख ४० हजार सहित पक्राउ गरेको छ ।
सिमाक्षेत्रमा कसरी आउछ लाखौं रुपैंया ?
सिमानाका बन्द रहेको अवश्थामा लकडाउन भन्दा पहिले भारत तर्फ करोडौं नेपाली रुपैंया थन्कीएको छ । नेपाल सँगको कारोबार भएको सिमाक्षेत्रको बजार र आवतजावत बन्द भएका कारण सो रकम भारतमा स्थीर अवस्थामा छ । भारतीय व्यापारीहरुसँग रहेको सो रकम उनीहरु नेपालमा पठाएर नेपालमा थन्कीएको भारतीय रुपैंया फिर्ता लग्न खोजीरहेको छन ।
रौतहटसँग सिमा जोडिएको भारत बिहारको बैरगनियामा मात्रै ५ करोड भन्दा बढी नेपाली रुपैया जम्मा रहेको श्रोत बताउछ । रौतहटको इशनाथ, गौर र राजदेवी नगरपालिकाको नाकाहरु यस कामको लागी प्रयोग भइरहेको छ । इशनाथको औरैया, मठिया, महुलिया, लवतना गौरको महादेवपट्टी र राजदेवीको बेलबिछवा नाका यस कामको लागी प्रयोग भइरहेको छ ।