हिरासतमा युवकको मृत्यु भए पछि गरुडामा प्रर्दशन

   ११ भाद्र २०७७, बिहीबार १८:१८  

११ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका विजय रामको मृत्यु भए पछि रौतहटको गरुडामा प्रर्दशन भएको छ ।

साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षिय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय रामको उपचारको क्रममा गए राति वीरगंजको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतक रामको शरीरमा घाँउचोट र नीलडाम सहितको तस्वीर सार्वजनिक भए पछि स्थानियहरुले प्रहरी विरुद्ध नारावाजी गर्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडी प्रर्दशन गरेका हुन ।

प्रहरीले भने किडनी बिग्रीएको कारण रामको मृत्यु भएको दाबी गरेको छ । “हिरासतमा रहेका १९ वर्षिय विजय रामको मृत्यु भएको हो ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खडकाले भने “किडनीमा समस्या रहेकोले उनलाई थप उपचारको लागी वीरगंज पठाएका थियौं । गए राति उपचारकै क्रममा उनको मृत्यु भएको हो ।”

आर्थिक प्रलोभनमा फसेको प्रहरीले यातना दिएको आरोप

निरजंन राम हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले निर्दोषलाई पक्राउ गरेर यातना दिदै अपराध स्वीकार्न लगाएको स्थानियको आरोप छ । गरुडाकै सच नर्सरी उद्योगका साहुलाई जोगाउन प्रहरीले ठूलो आर्थिक रकमको चलखेल गरेको स्थानियको दाबी छ ।

“ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले चरम यातना दिएर मेरो छोरा मारेको छ ।” मृतक विजयका बुवा पनिलाल रामले भने “लाखौं रुपैंया बुझेका प्रहरी अधिकारीहरुले अरुलाई जोगाउन मेरो छोरालाई निर्ममतापूर्वक कुटेको दाग शरीर भरी रहेको छ ।” घटनाको अनुसन्धान गरिरहेको रौतहट प्रहरी उपर गम्भीर आरोप लागेको छ । आफ्नो छोरालाई घरबाट जुन अवश्थामा पक्राउ गरेर प्रहरीले लगेको थियो सोही अवश्थामा छोरा फिर्ता चाहिने पनिलाल रामको माँग छ ।

घटनाका दोषी प्रहरी अधिकृतहरुलाई तत्काल निलम्बन गरेर कारवाही अगाडी बढाउन नेकपा प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले माँग गरेका छन । “हिरासतको बेला निरन्तर चरम यातना दिएर एक दलित युवकलाई मृत्युवरण गराउनु गम्भीर अपराध हो ।” सांसद साहले भने “यो दण्डनीय अपराधमा संलग्न प्रहरीलाई तत्काल कारवाही गर्न गृह प्रशासनसँग माँग गर्दछु ।”

यसै गरी हिरासतमा रहेका रामको मृत्यु पछि विभिन्न सँघसंस्था तथा राजनितिक दलहरु छुट्टाछुट्टै विज्ञप्ती निकालेर संलग्न प्रहरीलाई कारवाहीको माँग गरेका छन । “सच नर्सरीका संचालकहरु लखन साह र राजाराम साहलाई जोगाउन प्रहरीले विजय रामलाई निर्घात कुटपीट गरेका हो ।” जनता समाजवादी पार्टीका जिल्ला इन्चार्ज बृजकिशोर यादवले भने “दोषी प्रहरीहरुलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ ।”

प्रहरीले किडनी बिग्रेको कारण निधन भएको भने पनि मृतक रामको पिठ्यू, तिघ्रा लगायतको स्थानहरुमा घाँउचोटको दाग रहेको छ ।