चितवनमा थपिए ४५ कोरोना संक्रमित

   ११ भाद्र २०७७, बिहीबार १३:१८  

११ भदौ, रौतहट । चितवनमा पाँचमहिने बालकसहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी)मा भएका परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो।

भरतपुर अस्पतालको प्रयोगशालामा १५९ नमुनाको परीक्षण भएको थियो । जसमध्ये २६ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । तीमध्ये १४ जना रत्ननगर नगरपालिकाका छन् । माडी नगरपालिकाका नौ जनामा र भरतपुर महानगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । बाँकी एक जना तनहुँ, देवाघाट गाउँपालिकाको रहेको अस्पतालले जनाएको छ ।

सीएमसीमा हिजो राति १ सय ५५ वटा नमुनाको परीक्षण प्रतिवेदन आएको थियो जसमा २६ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ । तिनमा नवलपुरका तीन, सर्लाहीका दुई र तनहुँका एक गरी ६ जना संक्रमितबाहेक बाँकी २० जना चितवनकै हुन । चितवनका २० जनामा रत्ननगरका चार जनाबाहेक १६ जना भरतपुर महानगरपालिकाका छन ।

माडी नगरपालिकामा असार मसान्तपछि संक्रमित भेटिएका थिएनन । तर बुधबार एकै दिन नौजना संक्रमित पत्ता लागेका छन । नगर स्वास्थ्य संयोजक शिवहरि सुवेदीले भर्खर पास्नी गरिएका एक जना ५ महिने बालक र उनको परिवारका दुई जना सदस्यमा पनि संक्रमण देखिएको जानकारी दिए ।