वीरगञ्ज आइपुग्यो २५ सय टन युरिया मल, बिहीबारबाट किसानलाई वितरण गरिने
१० भदौ, रौतहट । मंगलबार विरगञ्ज साल्ट ट्रेडिङ कर्पोरेशनको २५ सय टन युरिया मल आईपुगेको छ । बुधबारसम्म भन्सार पास गरेर बिहीबारबाट किसानलाई वितरण गरिने कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले जनाएका छन् ।
‘हामीले कृषि मन्त्रालयको समन्वयमा कुन कुन जिल्लामा मल पठाउने भनेर तालिका बनाएका छौं, त्यसैअनुसार वितरण गर्छौं,’ उनले भने। मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुरलगायतका १० जिल्लामा वितरण गरिने छ । १३ सय टन युरिया मल विराटनगरका लागि हिडेको छ । त्यसमध्ये ६ सय टन मल विराटनगरमा आइपुगेको उनले बताए ।
कर्पोरेशनको गतवर्षको थप कोटा २१ हजार ५ सय टन र चालू आवको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय टन युरिया मल कलकक्तामा लकडाउनका कारण करिब ३ महिनादेखि अड्किएको थियो । लकडाउन खुकुलो भएसँगै मल नेपाल भित्रन सुरू गरेको छ । करिब ३ हप्तामा सबै मल कलकत्ताबाट हिडिसक्ने कर्पोरेशनका प्रवक्ता भण्डारीले बताए ।
त्यसपछि भने कृषि सामाग्री कम्पनी लिमिटेडको मल आउन सुरु हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । कर्पोरेशनले लकडाउनमा अड्किएको ५० हजार टन डिएपी मल मध्ये ६ हजार टन काम नलाग्ने भएकाले नल्याइएको जनाएको छ ।