फेरि घट्यो बोइलर कुखुराको भाउ व्यवसायीको चिन्ता

   ९ भाद्र २०७७, मंगलवार १४:००  

भदौ ९, रौतहट । कोरोना माहामारीका कारण कुखुराको मूल्यमा पनि घट्बढ भईरहेको छ । एक महिनाअघि जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ७० रुपैयाँ पाएपछि, तारकेश्वरका कुखुरा पालक किसान राजन अधिकारीले तीन हजार चल्ला थपेका थिए ।

करिब ४५ दिन स्याहार गरेपछि कुखुरा बेच्ने बेला आयो त्यतिखेर प्रतिकेजी २ सय ७० रुपैयाँ पाएर हौसिएका उनी अहिले प्रतिकेजी १ सय ८० रुपैयाँमा मात्र पाउँछन् । उनले भने अनुसार त्यो मूल्यले आफ्नो लागत पनि नउठेको ‘राम्रो मूल्य पाएको देखेर महँगो चल्ला हालें, अहिले लागत पनि उठेन,’ उनले गुनासो गरे ।

उनले एक महिनाअघि प्रतिचल्ला ७१ रूपैयाँका दरले हालेका थिए । एक महिनाको अवधिमा प्रतिकेजी ९० रूपैयाँ घट्दा राजनमात्र होइनन, धेरै कुखुरा पालक किसान निराश भएका छन ।

उत्पादन बढी र माग कम हुँदा कुखुराको मूल्य घटेको कीर्तिपुरका किसान सुशील भट्टराई बताउँछन । उनका अनुसार लकडाउनको सुरूआतमा धेरै किसानले घाटा खाएर चल्ला हालेनन ।

बीचमा उत्पादन कम भएर मूल्य बढ्यो। मूल्य बढेपछि धेरै किसाले चल्ला हाले तर उत्पादन बढी भएपछि कुखुराको मूल्य फेरि घटेको छ ।
भट्टराईले कुखुरा पालन गरेको एक वर्ष भयो । एक वर्षको अवधिमा पहिलो पटकमात्र २० हजार रूपैयाँ फाइदा भएको उनी बताउँछन ।
‘पहिलो लटमा फाइदा भयो । दोस्रो लटमा साँवामात्र उठ्यो । तेस्रो लटमा डेढ लाख घाटा भयो, यो पटक दुई लाखभन्दा बढी घाटा हुने भयो,’ उनले बताए, ‘पहिला घाटा भएर हालेको थिइनँ । लकडाउन खुलेको बेला मूल्य राम्रै आएको देखेर फेरि हालें, फेरि मूल्य घट्यो, मैले चल्ला हालेपछि मूल्य घट्छ कि के हो ।’सरकारले कुखुराको मूल्य तोकिदिए किसान घाटामा नजाने उनले बताए ।

‘कुखुरा बेच्न नेपाल आर्मीमा भर्ती हुन गएको जस्तो छ। कहिले छाती पुगेन, कहिले तौल पुगेन भनेर व्यापारीले त्यसै फर्कादिन्छन, हामीलाई कसले न्याय दिन्छ,’ उनले भने ।

कुखुराको मासुको खपत हुने होटल, रेष्टुरेन्ट बन्द भएकाले कुखुराको मूल्य घटेको राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । उनका अनुसार २ गतेदेखि ७ सम्म कुखुराको मासुको मूल्य प्रतिकेजी २ सय ७० रूपैयाँ थियो भने ८ गते प्रतिकेजी २ सय ५५ रूपैयाँमा झरेको छ ।