नेपाल–भारतबीच वार्ताको वातावरण बन्दै

   ८ भाद्र २०७७, सोमबार १७:४५  

भदौ ८, रौतहट । नेपाल–भारतका प्रधानमन्त्री बीच टेलिफोन वार्ता भएपछि, पछिल्लो समय दुई देशबीच चिसिएको सम्बन्धमा केही सुधारको संकेत देखिएको छ । सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्धमा चिसोपना भएको थियो ।

तर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवादका साथै अन्य च्यानबाट समेत संवादहरु बाक्लिएसँगै दुई देशबीचको सम्बन्धमा सुधारको संकेत देखिएको हो । यहाँसम्म कि नेपालको सन्देश लिएर नेपालका लागि भारतीय राजदूत विनय क्वात्रा केही दिनदेखि दिल्लीमा छन ।

नेपालले भारतसँग वार्ताका लागि गरेको पहलसँगै राजदूत क्वात्रा नेपालको सन्देश लिएर दिल्ली गएको भारतीय दूतावास स्रोतले जनाएको छ । सीमाविवाद सम्बन्धी समस्या दुवै देशले राजनीतिक र कुटनीतिक रुपमा समाधान गर्न चाहेका छन । त्यसका लागि नेपालले पहल पनि गरेको छ, तर भारत वार्तामा बस्न चाहिरहेको देखिँदैन ।

यहीबीचमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच १५ अगस्तमा भारतको स्वतन्त्रता दिवसको अवसर पारेर टेलिफोन वार्ता भएपछि वातावारण केही सहज भएको बताइएको छ ।

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई धाई तथा शुभकामना दिनुको साथै अगामी दिन समसामयीक विषयमा छलफल गर्ने कुरा राखेका थिए ।