पर्सा, बारा र रौतहटमा गरी थप ६० जनामा कोरोना पुष्टि

   ६ भाद्र २०७७, शनिबार ११:४१  

भदौ ६, रौतहट । बारा, पर्सा र रौतहटमा गरी थप ६० जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लाको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६० जना संक्रमितहरुमध्ये बाराका ५ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार ४ सय ५० जनाको पीसीआर परीक्षण गरिएको प्रयोगशाला स्रोतले जनाएका छन् । उनीहरुमध्ये अधिकांश पर्साको पर्सागढी नागरपालिकाका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका केही प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । अहिले संक्रमितहरुबारे थप विवरण आउन बाँकी छ ।

अन्य निकायबाट सूचना प्रवाहमा रोक लगाएर जिल्ला प्रशासन कार्यालय पर्साले हरेक दिन बेलुकी मात्रै संक्रमितको संख्या सार्वजनिक गर्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भदौ ५ गते साँझ ५ बजेसम्म पर्सामा ३ सय ८० जना महिलासहित १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २२ जना भारतीय नागरिक, १ सय १८ जना स्वास्थ्यकर्मी, ८५ जना सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी–थुनुवा, ४८ जना अस्पतालका सफाइकर्मी, गार्ड र कार्यालय सहयोगी छन् ।

विहीबार गरिएको परीक्षणमा पर्साका ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्ज महानगरपालिकाका ७१, बहुदरमाई, पोखरिया नगरपालिकाका १÷१ जना, जिराभवानी र पकहामैनपुर गाउँपालिका का १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये २७ जना महिलासहित १ सय ३८ जना आइसोलेसनमा छन् । २०४ जना महिलासहित ६०५ जनालाई होम आइसोलेसनमा र २१ जना महिलासहित १ सय १ जना शंकास्पद मानिस क्वारेन्टिनमा छन् । १७ हजार २ सय ६६ जनाको स्वाब संकलन गरिएकोमा ३ सय ७२ जनाको रिपोर्ट आउन बाँकी छ । कोभिड–१९ को संक्रमणबाट पर्सामा मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।

नारायणी कोभिड–१९ अस्पताल गण्डकमा ७०, नारायणी कोभिड–१९ अस्पताल वीरगञ्ज हेल्थ केयरमा १ सय २० र नारायणी अस्पतालमा–२० बेड गरी जम्मा २ सय १० बेडको आइसोलेसन सेन्टर छ भने स्कुल, धर्मशाला, होटललगायतका ठाउँमा ४ सय ९५ बेड सेमीआइसोलेसन बनाएर संक्रमितलाई राखिएको छ ।