फेरि बढ्यो युरोपमा संक्रमण

   ५ भाद्र २०७७, शुक्रबार ११:०२  

भदौं ५, रौतहट ।  युरोपका केही देशहरूमा लामो समयपछि कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्पेन, इटाली र जर्मनीमा संक्रमितको संख्यामा अत्यधिक वृद्धि देखिएको छ । त्यस्तै फ्रान्समा पनि भाइरसको संक्रमणमा वृद्धि भएको छ ।

जर्मनीको मारुक्सबर्ग सर्भिस स्टेसनमा कोरोना टेस्ट गर्नुअघि दर्ता गर्दै स्वास्थ्यकर्मी तस्बिर स् रोयटर्स

स्पेनमा बुधबार ३ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । जुनको अन्त्यमा स्पेनमा कडा लकडाउन हटाइएपछिको यो सबभन्दा ठूलो संख्या हो । त्यस्तै, इटालीमा बुधबार ६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या मे महिनायता दैनिक देखिएको सबभन्दा बढी हो । जर्मनीमा पनि एकै दिन संक्रमित हुनेको संख्या अप्रिलयताकै उच्च देखिएको छ ।

अधिकारीहरुका अनुसार बुधबार जर्मनीमा १ हजार ७ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । फ्रान्समा पनि मे महिनाको अनुपातमै संक्रमितहरू भेटिन थालेका छन् । फ्रान्समा बुधबार ३ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय अधिकांश युरोपेली देशमा लकडाउन खुकुलो पारेसँगै जनजीवन सामान्य बन्दै गएको थियो । तर संक्रमणका घटनामा वृद्धि भएसँगै चिन्ता थपिएको छ ।

कैयौं युरोपेली देशहरूले यात्रामा नियन्त्रण गर्ने उपाय तथा सामाजिक दूरी तथा मास्क लगाउने नियम भने हालसम्म पनि लागू गरिरहेका छन् ।

छिमेकी देश भारतमा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण तीव्र बन्दै गएको छ । भारतमा बिहीबार ६९ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । यो दैनिक संक्रमित हुनेको हालसम्मकै ठूलो संख्या हो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या २८ लाख ३६ हजार ९ सय २५ जनामा संक्रमण पुष्टि भएको छन् । भाइरसका कारण भारतमा ५३ हजार ८ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार तीमध्ये ९ सय ९७ जनाको बिहीबार मृत्यु भएको हो ।

संक्रमित संख्याका आधारमा भारत विश्वकै तेस्रो स्थानमा छ । पहिलो अमेरिकामा ५५ लाख ३० हजार ४ सय र दोस्रो ब्राजिलमा ३४ लाख ५६ हजार ६ सय संक्रमित छन् । अमेरिकामा १ लाख ७३ हजार २ सय तथा ब्राजिलमा १ लाख ११ हजार १ सयले भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।