बैंकले राहत प्याकेजको कार्यान्वयन अघि बढाए

   ४ भाद्र २०७७, बिहीबार १२:५४  

भदौ ४, रौतहट । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घोषणा गरेको राहत प्याकेजको कार्यान्वयन अघि बढाएको छ । केन्द्रीय बैंकले साना तथा मझौला उद्यम व्यवसायलाई कोरोना महामारीका कारण सृजित समस्याबाट वित्तीय चपेटामा पर्न नदिन राहत कार्यक्रम घोषणा गरेको थियो। पुनर्कर्जा सुविधामार्फत दिइने यस्तो राहत कार्यक्रमले ऋणीलाई ५ प्रतिशतमात्रै ब्याज तिर्नसक्ने बाटो खोलिदिनेछ ।

राष्ट्र बैंकले समस्यामा परेका ऋणीको आवश्यकता अनुसार पुनर्कर्जा माग गर्न सबै बैंकलाई आग्रह गरेको छ। पुनर्कर्जा पाउन योग्य मानिएका ऋणीले अब आफूले ऋण लिएको बैंकमा निवेदन दिनु पर्नेछ। त्यही निवेदनको आधारमा बैंकहरूले राष्ट्र बैंकसँग पुनर्कर्जा माग गर्न पाउनेछन्। केन्द्रीय बैंकले आगामी असोज १४ भित्र एकमुष्ट पुनर्कर्जा माग गर्न बैंकलाई सोमबार निर्देशन दिएको छ ।

तर, कुनै पनि बैंकले आफ्नो प्राथमिक पुँजी (सेयर पुँजी र जगेडा कोष)को एक चौथाइभन्दा धेरै पुनर्कर्जा माग गर्न भने पाउने छैनन । कर्जा भुक्तानी अवधि कम्तीमा एक वर्ष बाँकी नै भएका ऋणमा मात्र पुनर्कर्जा सुविधा पाइनेछ । धेरै बैंकबाट ऋण लिएका ऋणीले कुनै एउटा बैंकमार्फत मात्रै पुनर्कर्जा माग गर्न पाउनेछन ।