भाजपाको पक्ष लिएपछि फेसबुकको आलोचना

   २ भाद्र २०७७, मंगलवार १६:४२  

भदौं २, रौतहट । भारतको सत्तारुढ दल भाजपाका घृणाजन्य अभिव्यक्ति र आपत्तिजनक सामग्री निषेध नगरेको आरोप ।

भारतको सर्वोच्च अदालत र त्यसका प्रधानन्यायाधीशलाई लक्षित गर्दै माइक्रोब्लगिङ साइट ट्वीटरमा प्रेषित गरिएको सामग्रीलाई लिएर सिर्जना भएको बबाल साम्य हुन नपाउँदै अर्को सामाजिक सञ्जाल फेसबुक पनि विवादमा तानिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फेसबुकका संस्थापक मार्क जुकरबर्ग । फाइल तस्बिर स् एपी सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा० र विपक्षी भारतीय राष्ट्रिय कंग्रेसबीच सामाजिक सञ्जाल फेसबुकको भूमिकालाई लिएर विवाद खडा भएको हो ।अघिल्लो साता मात्र भारतको सर्वोच्च अदालतले शुक्रबार वरिष्ठ अधिवक्ता तथा नागरिक अधिकारकर्मी प्रशान्त भूषणलाई ट्वीटरमार्फत अदालतको मानहानी गरेको र न्यायालयको कामकारबाहीमै अवरुद्ध गरेकोमा दोषी ठहर गरेको थियो ।

पत्रकार, लेखक तथा बुद्धिजीवीहरूले अदालतको उक्त फैसलाले न्यायालयको मात्र नभएर भारतीय लोकतन्त्रकै गरिमा घटाएको भन्दै चर्को विरोध गर्दै आएका छन् ।फेसबुकसम्बन्धी पछिल्लो विवादको सुरुवात भने वाल स्ट्रिट जर्नलमा प्रकाशित एउटा लेखबाट भएको हो । उक्त लेखमा फेसबुकको घृणा (हेट स्पिच) सम्बन्धी नियम र भारतीय राजनीति बाझिएको भए पनि कम्पनीका प्रमुख कार्यकारीले त्यस्ता अभिव्यक्तिलाई निषेध गर्न नचाहेको उल्लेख थए ।

साथै लेखमा फेसबुकले सत्तारूढ भाजपा र त्यसका नेता तथा कार्यकर्ताका घृणाजन्य अभिव्यक्ति र आपत्तिजनक सामग्रीहरूलाई अरूभन्दा भिन्न तरिकाले हेरिरहेको समेत दाबी गरिएको थियो । त्यसैगरी उक्त लेखमा फेसका कार्यकारीलाई उद्धृत गर्दै यदि भाजपा कार्यकर्ताका सामग्रीहरूमा रोक लगाउने हो भने त्यसले कम्पनीको भारतमा रहेको व्यापारमा समेत प्रतिकूल असर पर्न जानेसमेत जिकिर गरिएको छ । यसरी फेसबुक समग्रमा भाजपाप्रति सकारात्मक रहेको उक्त लेखमा दाबी गरिएको छ ।

यही लेखलाई लिएर विपक्षी कंग्रेसले सत्तारूढ भाजपाविरुद्ध निसाना साधेको हो । कंग्रेसका नेता तथा पूर्वअध्यक्ष राहुल गान्धीले अमेरिका मिडियाले फेस र भाजपाका सम्बन्धमा वास्तविकता उजागर गरेको बताएका छन् । ‘भारतमा फेसबुक र ह्वाट्सएप भाजपा र आरएसएसको नियन्त्रणमा छ । तिनीहरू गलत सूचना र घृणा फैलाउँछन् र त्यसलाई जनमतलाई प्रभाव पार्न दुरुपयोग गर्दै आएका छन् । अन्ततः अमेरिकी मिडियाले फेसबुकको वास्तविकता बाहिर ल्याएको छ,’ गान्धीले ट्वीटमा भनेका छन् । कंग्रेसले घटनाबारे छानबिन गर्न संयुक्त संसदीय समिति गठनको मागसमेत गरेको छ ।

भाजपाले आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि फेसबुक, ट्वीटर र ह्याट्सएपलगायत इन्टरनेट सञ्जाललाई व्यापक रूपमा प्रयोग गर्दै आएको छ । र, ऊमाथि ती सञ्जालमार्फत आफ्ना विरोधीहरूप्रति घृणा फैलाएको र आक्रमण गरेको आरोप लाग्दै आएको छ । भाजपा समर्थित कट्टर हिन्दुवादीहरूबाट भएका कतिपय हिंसात्मक घटनाका पछाडि तिनै घृणाजन्य अभिव्यक्ति र सामग्रीलाई जिम्मेवार ठानिएको छ ।

यो पृष्ठभूमिमा फेसबुकले भाजपाप्रति झुकाव राख्ने गरेको खुलासा भएपछि प्रमुख राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप सुरु भएको हो । तर, विपक्षी कंग्रेसको पछिल्लो आरोपलाई सत्तारूढ भाजपाले भने ठाडै नकारेको छ । केन्द्रीय मन्त्री तथा भाजपाका वरिष्ठ नेता रविशंकर प्रसादले ट्वीटमार्फत नै गान्धीलाई जवाफ दिएका छन् ।

‘आफ्ना कार्यकर्ताहरूलाई नै जोगाउन नसक्ने पराजितहरूले पूरै विश्व भाजपा र आरएसएसको नियन्त्रण छ भनिरहेका छन्,’ प्रसादले ट्वीटमा भनेका छन् । साथै उनले फेसबुका डाटालाई चुनावलाई प्रभावित गर्ने गरी क्याम्ब्रिज एनालिटिकासँगको साझेदारीको समेत स्मरण गराएका छन् ।

दुई वर्षअघि भाजपा र कंग्रेसबीच क्याम्ब्रिज एनालिटिकामार्फत फेसबुकको डाटा दुरुपयोग गरेको आरोपप्रत्यारोप चलेको थियो । सन् २०१६ को चुनावमा एनालिटिकाले लाखौं फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोग गरेको खुलासा भएको थियो । त्यसपछि भारतमा पनि २०१९ को लोकसभा चुनावमा त्यस किसिमको दुरुपयोग हुन सक्ने भन्दै राजनीतिक विवाद नै खडा भएको थियो ।

क्रिस्टोफर ह्वीली नामका एक जना ‘ह्वीसल ब्लोअर’ ले भारतीय कम्पनी एससीएल समूहले एनालिटिकाको साझेदारीमा कंग्रेसका लागि काम गरेको खुलासा गरेका थिए । तर, त्यसलाई कंग्रेसले भने नकारेको थियो ।दुई वर्षपछि पुनः एकपटक फेसबुकलाई लिएर विवाद सिर्जना भएको छ । यसैबीच, कंग्रेस नेता शशि थरुरले पछिल्लो विवादलाई लोकसभाको सूचना–प्रविधि समितिमा छलफल गराइने बताएका छन् ।

‘संसद्को सूचना–प्रविधि समितिमा पछिल्लो रिपोर्ट र हेट स्पिचका सम्बन्धमा भारतका लागि केकस्तो प्रस्ताव छ भन्ने विषयमा फेसबुकसँग छलफल गरिनेछ,’ थरुरले ट्वीटमा भनेका छन् ।

भारत विश्वमा सबैभन्दा बढी फेसबुक प्रयोगकर्ता भएको मुलुकमा पर्छ । भारतमा मात्र फेसबुकका २४ करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता भएको अनुमान छ ।

बिबीसी