जापानी अर्थतन्त्र कोरोना महामारीले चौपट

   १ भाद्र २०७७, सोमबार १७:१३  

भदौ १, रौतहट । कोरोना महामारीका कारण जापानको अर्थव्यवस्थामा चरण संकट देखिएको छ । कोरोना भाइरसको महामारीका कारण जापानको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा इतिहासमै सबैभन्दा गिरावट आएको हो ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा ७।८ प्रतिशतले जीडीपी घटेको छ । कोरोना महामारीका बीच डामाडोल भएको अर्थव्यवस्था जोगाउनका लागि अहिले नीतिनिर्मातामाथि दबाब दिइएको छ ।

अप्रिल–जुनको त्रैमासिकमा जापानी अर्थव्यवस्थामा आधाभन्दा बढी योगदान दिने निजी खपतमा पनि ८।२ प्रतिशतले गिराववट आएको छ ।जापानमा मे महिनाको अन्तिमतिर संकटकाल हटाइएको थियो । त्यसपछि धेरै व्यापार व्यवसायलाई सञ्चालनका लागि अनुमति दिइएको थियो ।

अर्थविद्हरुका अनुसार जापानी अर्थव्यवस्थामा सुधार हुने–नहुने कुरा कोरोना महामारीको अवस्थामा भर पर्छ । मिजुसो रिसर्च इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री सैसुके सकाई भन्छन्, ‘आशा छ कि जुलाई–सेप्टेम्बर त्रैमासिकमा दुई अंकमा आर्थिक वृद्धि हुने आशा गरिएको छ । अप्रिल–जुनमा जुन क्षति भएको छ, त्यो भरपाई हुन सक्छ ।’

जापानका अर्थमन्त्री यासुतोसी निसिमुराले पनि अर्थव्यवस्थालाई ‘ट्रयाक’ मा ल्याउन सरकारले ‘लचिलो र अनुकूल कदम’ उठाउने बताएका छन् । सोमबार बिहानसम्म जापानमा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट जापानमा एक हजार १ सय ३ जनाको मृत्यु भएको छ ।