विराटनगरमा स्वाब संकलन गर्ने चिकित्सकलाई नै कोरोना संक्रमण, ८६ जना संक्रमित थपिए

   ३२ श्रावण २०७७, आईतवार १५:५७  

साउन ३२, रौतहट । विराटनगर महानगरपालिकामा शंकास्पद कोरोना संक्रमितको स्बाव संकलन गर्न खटिएका स्वास्थ्यकर्मीको नै कोरोना पोजेटिभ देखिएपछि, स्बाव संकलन रोकिएको छ ।

स्वाब संकलनमा खटिने चिकित्सकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । अन्य स्वास्थ्यकर्मीको स्वाब संकलन गरी कोरोना जाँच गर्न एक दिन स्वाब संकलन रोकिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनका अनुसार संक्रमण पुष्टि भएका चिकित्सकलाई केही दिनयता कोरोनाको लक्षण देखिएको थियो ।

यस्तै बितेको २४ घण्टामा विराटनगरमा महानगरपालिकामा थप ८६ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा सामाजिक विकास मन्त्रालयका अनुसार ३२ महिला र ५४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएको कोरोना संक्रमितसंगै विराटनगरमा संक्रमितको कुल संख्या ५ सय ६६ पुगेको छ ।

संक्रमित मध्ये ८६ जना कोरोना मुक्त भएका छन । सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार विराटनगर २ तीन पैनीकी ५० वषिर्य महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

प्रदेश १ मा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ९२, इलाममा १, खोटाङमा ६ र सुनसरीमा २ सहित प्रदेशमा १०३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये २ जना प्रदेश २ का छन ।