कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
साउन ३२, रौतहट । प्रदेश १ मा कोरोना भाईरस (कोभिड १९)का संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ५० वर्षीय महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
उनमा फोक्सो र थाइराइडका साथै मुटुसम्बन्धी समस्या रहेको र यसअघि भारतमा उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । यस्तै, उच्च ज्वरोका साथै, श्वास फेर्नमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रिफर भएकी महिलालाई शनिबार राति ११;३० मा प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
विराटनगर तिनपानीकी उनलाई ४-५ दिनदेखि ज्वरो, खोकी र श्वास फेर्न समस्या देखिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए ।
त्यस्तै अहिले उनको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको प्रवक्ता सापकोटाले बताए ।
यो सँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १४ पुगेको छ । जसमध्ये ४ जना प्रदेश २ का छन, भने १० जना मोरङका मात्रै हुन् ।