मलखाद्य बिनाकै धान दिवस
१५ असार, रौतहट । आज असार १५, मानो रोपेर मुरी फलाउने दिन । धान किसानका लागी आज रोपाई दिवस पनि हो ।
सरकारले धान रोपाई दिवस मनाइ रहदा किसान भने मल अभावमा खेती कसरी गर्ने भन्ने पीरमा डुबेका छन । रौतहटका धान किसानले यस वर्ष पनि सरकारले समयमै मल उपलब्ध गराउनेमा विश्वस्त छैनन ।
रौतहट जिल्लामा ६५ हजार ९६९ हेक्टर कुल खेती योग्य जग्गा रहेको जसमा ४० हजार ६२५ हेक्टर जग्गामा धान खेती गर्ने गरिन्छ भने बाँकीमा अन्य खेती किसानहरुले गर्छन । मौसमको प्रतिकुलता, समयमा मलखाद्य उपलब्ध नहुनु र विभिन्न किराहरुको प्रकोपका कारण रोग लागि दाना नलाग्नाले उत्पादनमा धेरै ह्रास आउने गर्छ ।
उर्वर भूमी भएर पनि कृषकलाई चाहिने अत्यावश्यक सामग्रीहरुको अभावका बारेमा सरकारले समयमै ध्यान नदिदा धान उत्पादन गर्ने रौतहटका कृषकहरु मारमा परेका छन । खेतमा धानबालि लगाएका किसानले वर्षौ देखि मलखादको चरम अभाव भोगी रहेका छन । कृषि सामग्रीकै अभावमा उत्पादन घटेन थाले पछि किसानहरु धानखेतीको विकल्प खोज्न थालेका छन । रौतहटका बजारहरुमा यूरिया मलको अभाव भएको र भारतीय सिमाक्षेत्रबाट ल्याउदा समेत कानूनी झन्झटको सामना गर्नु परेको किसानको दुखेसो छ । नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिए पछि किसान आक्रोशित बनेका छन ।
किसानले माँग गरे बमोजिमको मलखाद नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन । नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदेधान (बोरो) को रुपमा धान खेती हुने गर्दछ । नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ जस मध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा वढी छ । अन्नबाली उत्पादनको कूल क्षेत्रफलको करीब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कूल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । नेपालमा बार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उप–उत्पादनहरु प्राप्त हुने गर्दछ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषिक्षेत्रको गार्हस्थ्य उत्पादनमा १५.३५ प्रतिशत योगदान रहेको छ ।