भारतले निर्यातमा रोक लगाएपछि चिनीको मूल्य बढ्न थाल्यो
३ असार, रौतहट । भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढेको छ ।
वितेको १५ दिनको अवधिमा किलोमै २० ले चिनीको मूल्य बढेको छ । चिनीको मूल्य किलोमै २० रुपैयाँ बढेसंगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गर्ने लागेको छ ।
चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका प्रतिनिधिसँग बिहीबार छलफल गरेको थियो ।
विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनीको मूूल्यको विषयमा विभिन्न निकायका प्रतिनिधिसँग विभागमा छलफल गरिएको जानकारी दिए ।
चिनी उत्पादकले उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको भन्दै भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको बताएको उनले जानकारी दिए ।
भारतले जुन १ तारिख (१८ गते बुधबार)देखि चिनी निर्यातमा रोक लगाएको थियो । भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा चिनी उद्योगी तथा व्यवसायीले किलोमै २० रुपैयाँ बढाएका छन् ।
यसअघि प्रतिकिलो ९० रुपैयाँमा पाइने चिनी भारतको प्रतिबन्धपश्चात ११० रुपैयाँ पुगेको छ ।






