महिलामाथि हातपात गरेको आरोपमा स्वास्थ्य राज्यमन्त्री वली पक्राउ

   ३१ जेष्ठ २०७९, मंगलवार १३:५४  

३१ जेठ, रौतहट । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमलाकुमारी खत्री (वली) पक्राउ परेकी छन् ।

महिलामाथि हातपात गरेको आरोपमा राज्यमन्त्री वलीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । दाङका प्रहरी प्रवक्ता सुरेश काफ्लेका अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित सब्जिमण्डी बजार नजिकै घर भएको एक महिलामाथि आज बिहान उनकै घरमा गएर हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको हो ।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरमै गएर राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकी उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मीना र उनकी छारीमाथि राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।