लाटोकोसेरोसहित पर्साबाट भारतीय नागरिक पक्राउ
९ जेठ, पर्सा । पर्साबाट लाटोकोसेरोसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र नरकटियागञ्ज ग्राम मनिहारी ३ का ३५ वर्षीय शेख अनवर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । लाटोकोसेरोलाई डिभिजन वन कार्यालयमा बुझाइएको छ ।
पक्राउ परेका उनीहरुलाई वन्यजन्तु सरंक्षण ऐनसम्बन्धी कसूर मुद्दा अन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।