सर्लाहीको बरहथवामा रद्द गरिएको चुनाव आज हुदैँ

   ३ जेष्ठ २०७९, मंगलवार १५:२०  

३ जेठ, सर्लाही । निर्वाचन आयोगले रद्द गरेको चुनाव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ मा आज भइरहेको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा बिहानै देखि शान्तिपूर्ण वातावरण तथा भयरहित मतदान भएपनि  मध्याह्नबाट अन्य पार्टी पक्षीयले मतदातालाई मत हाल्नै नदिएको भन्दैँ नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुनस् मतदानको माग गर्दै जाहेरी दिएपछि निर्वाचन आयोगले मंगलबार बिहानै देखि चुनाव सुरु गरेको छ ।

आयोगले अनुमति दिएपछि आधारभूत विद्यालय परोरिया मतदानस्थलका २ वटा मतदान केन्द्रमा आज बिहान ७ बजेबाट शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । १ हजार ९५४ मतदाता रहेको ३० गते रद्द गरि आज भइरहेको मतदानस्थलमा हालसम्म दुवै मतदान केन्द्रमा ८५ प्रतिशत भन्दा बढी मत खसिसकेको छ । जबकी गत शुक्रबार साँझ ५ बजेसम्म पनि १८ प्रतिशत मत मात्र खसेको थियो ।

मतदान स्थलमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानस्थल आसपास नेपाली सेनाको गस्ती समेत बढाइएको छ ।

गत ३० गते रद्द गरि आज भइरहेको चुनाव ५ बजे सकिने बितिकै मतगणनाको प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।