नक्कली नोटको कारोबार गरेको आशंकामा एक भारतीय नागरिक पक्राउ
द नेपाल मिडिया
२ जेष्ठ २०७९, सोमबार १४:२०
२ जेठ, सर्लाही । नक्कली नोटको कारोबार गरेको शंकामा सर्लाहीबाट एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको गोडैता नगरपालिका वडा नम्बर ८ स्थित गोडैता बजारबाट भारतको सितामढी रनौली १० घर भएका २२ वर्षीय सरोजकुमार बैठालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
गोडैता नगरपालिका–५ रामबन घर भई पार्चुनको पसल गरी बस्ने सुजित यादवले संञ्चालन गरेको पसलमा सामान किन्दा बैठाले दिएको पैसा नक्कली रहेको भन्दैँ गोप्य सूचनाका आधारमा प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
४ थान हजारका नोटसहित पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।