नेपालगञ्जमा कारको ठक्करबाट तीन जनाको मृत्यु
२८ चैत, बाँके । कारको ठक्करबाट बाँकेमा तीन जना पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीय कसिम इद्रिसी र ५ वर्षकै अलि इद्रिसीको दुर्घटनामा परेर मृत्यु भएको बाँकेका ट्राफिक प्रहरीले जनाएको छ ।
प्रदेश ३-०१-२३ च ८४८१ नम्करको कारको ठक्करबाट घाइते भएका तीनै जनलाई उपचारका लागि अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको छ ।
कार चालक नेपालगञ्ज उपमहानगर १० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेको थापाले मादक पदार्थ सेवन गरेको मेडिकल रिपोर्टमा देखिएको । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार चालकले आइतबार अपरान्ह ३ बजेतिर मदिरा खाएको स्वीकार गरेका छन् ।
उनीहमाथि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
समिना र कसिम एकै घरका हुन् भने अली छिमेकी हुन् । रोजा चलिरहेकोले उनीहरू प्रार्थनाका लागि जाँदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।