गहना ठगी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ

   २६ चैत्र २०७८, शनिबार ११:२३  

२६ चैत, रौतहट । गहना ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनको गहना चम्काउने बहानामा कम तौलको बनाइ ठगी गरेर लामो समयदेखि फरार भएका भारतको बिहार राज्यका २१ वर्षीय राजाकुमार साह र २४ वर्षीय अनिल कुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गत २२ गते (मंगलबार) साहद्वयले मेलम्ची नगरपालिका वडा नम्बर १ चाङ्ख टोलका मानबहादुर तामाङसहित ८ जनाको घरबाट सुनचाँदी गरहगना र तामाको पित्तलका भाँडा चम्किलो बनाइदिने भन्दै ठगेका थिए । सफा गरेको त्यही गहना कम तौलको बनाएर फिर्ता गरेर उनी दुवै जना फरा भएका थिए ।

सफा गर्ने बहानामा गहना ठगी गरेको भन्दैँ प्रहरीमा दिएको उजुरीका आधारमा गत २३ गते (बुधबार) उनीहरुलाई प्रहरीले हिरासतमा लिएको थियो ।

पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।