अगामी वैशाखदेखि साताको दुई दिन सार्वजनिक बिदा

   २४ चैत्र २०७८, बिहीबार १२:३३  

२४ चैत, रौतहट । लगातार वृद्धि हुदै गएको पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले अगामी तीन महिना साताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

अर्थमन्त्रालयमा बसेको विज्ञ र सरोकारवालाहरुको बैठकले कम्तीमा तीन महिनाका लागि शनिबार र आइतबार सार्वजानिक बिदा दिन सरकारलाई प्रस्ताव गरेको हो ।

बैठकले आगामी तीन महिनाका लागि सरकारी र सार्वजनिक कार्यालयमा शनिबार र आइतबार बिदा दिने व्यवस्था मिलाउने निर्णय गरेको हो । साताको दुई दिन सार्वजानिक बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गर्ने र आगामी नयाँ वर्ष वैशाखदेखि लागू हुने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बिदाको दुई दिन अत्यावश्यकबाहेकका सरकारी साधन नचलाउने निर्णय गरेसँगै सरकारी सवारीसाधन चलाउन पास वितरण नगर्ने निर्णयसमेत बैठकले गरेको छ ।

अर्थ मन्त्रालयको बैठकले सरकारी निकायहरूको इन्धन खर्च २० प्रतिशतले घटाउने निर्णय गरेको छ । यता, नेपाल राष्ट्र बैंकले पनि इन्धन खपत ४० प्रतिशतले घटाउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकको व्यवस्थापनले सबै तहका कर्मचारीमा लागू हुने गरी इन्धन खपत ४० प्रतिशतले घटाउने निर्णय गरेको हो ।