उदयपुरमा आगलागी हुँदा करोडौँको क्षति, एक वृद्धाको मृत्यु
१४ चैत, उदयपुर । उदयपुरको उदयपुगढी गाउँपालिकामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने ८ घर जलेर नष्ट भएको छ ।
उदयपुरगढी गाउँपालिका वडा नम्बर १ सिखरपुरस्थित गौरबहादुर मगरको घरमा आगलागी हुँदा उनकी श्रीमती ६६ वर्षीया शिवमाया मगरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार अपरान्ह ४ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार शिवमाया अपाङ्ग थिइन् ।
अपरान्ह ४ बजेदेखि सुरु भएको लागोलाई प्रहरी र स्थानीयको सहयोगमा राति ८:३० बजेतिर नियन्त्रणमा लिएको थियो ।
आगलगीमा परेर ८ वटा घर जलेको छ भने चौपाय बाख्रा पाठा ५१ वटा जलेर मरेका छन् ।
४ वटा सुँगुर पनि जलेर मरेको कार्यालयले जनाएको छ । आगलागीबाट १ करोड २१ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।






