एक महिलामाथि एसिड प्रहार; जेठाजु र ससुरा पक्राउ
११ चैत, बारा । बाराको कलैयामा एक महिलामाथि एसिड प्रहार भएको छ ।
पर्साको वीरगञ्ज १३ श्रीपुर बस्ने उमेश साहको श्रीमती सीता पटेलमाथि उनकै जेठाजु रामबाबु साह र ससुरा हवारी साहले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट उनको शरीर पोलेको छ ।
वीरगञ्जबाट माइती घर कलैया जान लागेकी उनीमाथि जेठाजु र ससुराले शुक्रबार राति ८ बजेतिर कलैया उपमहानगरपालिका २३ कोरिया टोल नजिकै एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ना.६०प ७२७९ नं. को स्कुटीमा आएका दुवै जनाले सीतामाथि एसिड प्रहार गरेर फरार भएका थिए ।
घाइते भएकी उनलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । आरोपी दुवै जनालाई हिरासतमा राखी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






