गौरमा आगलागी हुँदा तीन जनाको मृत्यु, तीन जना उपचाररत

   ८ मंसिर २०७९, बिहीबार ११:२४  

८ मंसिर, रौतहट । रौतहटको गौर नगरपालिकामा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ ।

गौर नगरपालिका वडा नम्बर १ स्थित इस्लाम कपडा तथा सिरक डसना पसलमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार गएराति १०:४५ बजेतिर आगलागी हुँदा रुकसाना खातुन, ईमरान मन्सुरी र सबिना खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागीमा परेर घटनास्थलमै ज्यान गुमाउनेमा दुई जना बालिका र एक जना बालक रहेका छन् ।

हिजो राति भएको आगलागीमा परेर लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी नै रहेको छ । प्रहरीका अनुसार हाल आगलागीको कारण खुल्लन सकेको छैन् । प्रारम्भिक अनुसन्धानका आधारमा बिजुली सटभएर आगलागी भएको प्रहरीले अनु्मान गरेको छ ।

यस्तै, आगलागीमा परेर घाइते भएका अन्य तीन जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल गौरमा पठाइएको थियो ।

गम्भीर घाइते भएका एक जनाको उपचार जिल्ला अस्पतालमा सम्भव नभएकोले थप उपचारका लागि उनलाई पर्साको वीरगञ्ज अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।