राखेपको सदस्य सचिवका लागि ३ जनाको नाम सिफारिस

   १३ मंसिर २०७८, सोमबार १४:४६  

१३ मंसिर, रौतहट । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्तिका लागि मन्त्रिपरिषद्माले तीनजनाको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

यही मंसिर ४ गते मन्त्रालयले सदस्यसचिव पदका लागि आवदेन खुला गरेको थियो । शुक्रबार अन्तिम दिनसम्म १८ जनाको आवेदन परेको थियो । त्यसमध्येबाट तीनजनाको नाम सिफारिस गरिएको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए । उनले सूची मन्त्रिपरिषद्मा सिफारिस गरिसकेका कारण नाम खुलाउन नमिल्ने बताए ।

यद्यपि, सिफारिस समितिले टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको बताइएको छ ।
समितिले प्रस्तुत गरेको नाम खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सोमबार (आज) बस्ने मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरेका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्यसचिव सिफारिसका लागि तत्कालीन निमित्त सचिव कमलप्रसाद पोखरेल संयोजक तथा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सम्मिलित तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । तर, मन्त्रालयमा डा. दामोदर रेग्मी सचिव भएर आएपछि उनैले सदस्यसचिव नियुक्तिको प्रक्रिया अघि बढाएका थिए ।

सिफारिस समितिले आइतबार सदस्यसचिवका लागि आवेदन दिएका १८ जनालाई मन्त्रालयमा कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो । सदस्यसचिवमा आवेदन बुझाउनेमा टंकलाल घिसिङ, अच्युतम लामिछाने, ममता श्रेष्ठ, भरत महर्जन, देवराज चौलागाईं, राजकुमार कार्की, दीपक विष्ट, आरके विष्ट, भरत चालिसे, छुम्बी लामा, रविराज कर्णिकार, मानबहादुर गुरुङ, सुदिल शाही, विनोदकुमार यादव, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ र सुनील नकर्मी थिए ।

तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालाई कात्तिक १ गते बर्खास्त गरेको मन्त्रालयले मंसिर ४ गते सात दिनको म्याद राखेर सदस्यसचिवका लागि दर्खास्त आह्वान गरेको थियो ।