गौर कारागारमा नाइकेहरुको छुट्टै राज्य

   १२ मंसिर २०७८, आईतवार १३:२६  

१२ मंसिर, रौतहट । रौतहटको गौरमा रहेको जिल्ला कारागारमा चौकिदार, मूल नाइके र नाइकेहरुको शोषण र विकृतिले गर्दा कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरु पीडित बनिरहेको तथ्य सार्वजनिक भएको छ ।

गत मंसिर १ गते देवाही गोनाही नगरपालिका ७ का लडाई साह कारागार भित्रको शौचालयमा झुण्डीएको अवश्थामा फेला परे पछि कारागार भित्रको गुण्डागर्दी र बेथिति बाहिर आउन थालेको हो ।

जिल्ला कारागारको शौचालयमा मृत भेटिएका लडाई साहको हत्या भएको परिवारजनले दाबी गर्दै आएका छन । जिल्ला कारागारका अन्य कैदीले पनि कारागार प्रशासन र नाइकेहरुको चरम यातनाका कारण आफुहरु समेत असुरक्षित रहेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा मानवअधिकार आयोगमा समेत कैदीहरुले पत्र पठाएका छन ।

अपरहण, शरिर बन्धक तथा जर्बजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका साहलाई २०७६ बैशाख ४ मा कारागार चलान गरिएको थियो । कारागार भित्रको दादागिरी र यातनाका कारण साहको ज्यान गएको अन्य कैदीहरुको तर्क छ । कारागार प्रशासनले भने घटना आत्महत्याको भएको बताउदै आएको छ ।

“कारागार भित्र नाइकेहरुको छुट्टै राज्य छ ।” गौर कारागारबाट सजाय भुक्तान गरेर आएका राजेश गिरीले भने “कारागारका बन्दीहरु शारिरीक, मानसिक, आर्थिक, यातनाको शिकार भईरहेका छन ।” कारागार व्यवस्थापन ऐन २०१९÷२०२० मा जघन्य प्रकृतिको मुद्दाका कैदीलाई चौकीदार नबनाउने नियम भए पनि बलात्कार गरी हत्या गरेको आरोपमा कैद जिवन बिताइरहेका विक्की सिंहलाई गौर कारागारमा चौकीदार बनाइएको छ । कारागार ऐनमा कैदीबन्दीहरु मध्ये पुरानो व्यक्ति वा कैद भुक्तान गर्न कम समय रहेका व्यक्तिलाई चौकीदार बनाउनु पर्ने प्रावधान रहेपनि गौर कारागार प्रशासनले नियम विपरीत जघन्य अपराधका कैदीलाई चौकिदार बनाएको छ ।

कारागार प्रशासनले चौकीदार विक्की सिंहको मातहतमा चेक नाइके मसिर देवान, दाईनाइकेद्धय रामनरेश यादव र जय सिंहलाई जिम्मेवारी दिएको छ । उनीहरुको मातहतमा ४० जना व्यक्तिहरुले गौर कारागारमा रहेका ३७० कैदीबन्दीहरु माथि दादागिरी, अबैध रकम असुली लगायतका कार्यहरु गर्ने गरेको गिरीले बताए । यस विषयमा कारागार प्रशासन संग गुनासो गर्दा झन् यातनाको शिकार बन्नु परेको उनले बताए ।

कोठा नं. ६, यातना कक्ष

कारागारमा रहेको मध्ये कोठा नम्वर ६ मा कुनै कैदीबन्दी जान चाहदैनन । कारागारको यो कक्ष कैदीबन्दीहरुको लागी यातना कक्ष हो । यही कोठामा राखेर विक्की सिंहको समुहले कैदीहरुलाई चरम यातना दिने र लागुऔषधको सेवन गर्ने गरेका छन । नाइकेहरुले कारागार भित्र लागु औषध, चुरोट, खैनी, लगायतका अवैध सामानको व्यापार समेत गर्ने गरेको गिरीले बताए । “कैदीबन्दीहरु संग भेट्न आउने उनका परिवारका सदस्यहरुले ल्याएको सामानहरु भित्र दिने बहानामा खोसेर चौकिदार विक्की सिंहद्धारा संचालन गरिएको पसलमा राखिन्छ । ” गिरीले भने “बाहिर बजारमा पाइने भन्दा भित्र कारागारको पसलमा तिन दोब्बर बढी महङ्गोमा खरिद गर्ने बाध्यता छ । ”

मेस संचालनको जिम्मेवारी पाएका चौकिदार विक्कि सिंहले गुणस्तरहीन खाना खुवाइरहेको उनले बताए । प्रतिदिन ७ सय ग्राम चामल गरी महिनाको एक कैदी बन्दीले २१ किलो चामल र १८ सय नगद रकम पाउने गरेको भएपनि कैदीले थप खाना मागेमा चौकिदारले कुटने गरेको र प्रत्येक महिनाको १, ११ र २१ गते कैदीहरुलाई लामबद्ध गराएर चौकीदारको पसलमा खाए वापतको तेब्बर रकम असुल्ने र माँगे बमोजिमको पैसा नदिदा कोठा नम्वर ६ मा लगि चरम यातना दिने गरेको उनले भने ।

शौचालयमा मृत भेटिएका लडाई साहको पनि १ गते कै दिन मृत्यु भएको थियो । “पैसा हुनेले कारागार भित्र जे पनि गर्न पाउँछ । रकम लिएर कैदिलाई बाहिर होटेलहरुमा समेत पठाइन्छ ।” १६ महिना कारागार बसेर आएर आएका गिरीले कारागार भित्र नाइकेहरुको साम्राज्यका बारेमा बताउदै भने “कत्र्तव्य ज्यान मुद्दामा कैदीबन्दीको जिवन विताईरहेका शेख शौकतसंग चौकीदार विक्की सिंहले पैसा लिएर कारागार सुरक्षामा खटिने प्रहरीकै कोठामा एक महिलासँग अनैतिक सम्बन्ध समेत गराएका थिए ।”

विक्की सिंहको विपक्षमा आन्दोलन गर्ने जयबाबु सिंहलाई कारागार प्रशासनले केही दिन अघि रामेछाप सरुवा गरेको छ । नाइके सिंहको अन्यायका बारेमा कैदीबन्दीहरु एकजुट भएर विद्रोह गरेपछि जयबाबु सहित दश जनालाई रामेछाप कारागारमा सरुवा गरिएको हो ।

यस विषयमा गौर कारागारका जेलर शम्भु प्रसाद यादवले कारागार व्यवस्थापन ऐनमा जघन्य प्रकृतिको कैदीलाई चौकीदार नबनाउने प्रावधान रहेपनि विक्की सिंहलाई जिम्मेवारी दिएको स्वीकार गरेका छन ।

गौर कारागारका जेलर यादवले हाल कारागारमा उत्पन्न भएको तनावका कारण विक्की सिंह पक्षलाई अन्य कारागारमा सरुवा गर्ने तयारी भइरहेको बताएका छन । विवाद भएको दुई मध्ये एक पक्षलाई रामेछाप कारागारमा पठाए पछि अहिले अवश्था सामान्य भएको उनले बताए ।