सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

   ७ मंसिर २०७८, मंगलवार १०:५०  

७ मंसिर, रौतहट । रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका ८ बैजनाथपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

सोमबार गएराति १२:४५ बजेतिर गौर–चपुर सडकखण्डमा बैजनाथपुर चौकमा ना५३प ६११२ नम्बर र सोही विपरीत दिशाबाट आईरहेको ना४३प ६२४३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएको ६११२ नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका ९ का २४ वर्षीय रामाशंकर साहलाई उपचारका लागि चपुर अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परी गम्भीर घाइते भएका गुजरा ९ बस्ने मनोज चौधरी र मोटरसाइकलको पछाडि बसेकी वृन्दावन ७ की कान्ती देवीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ठोकिएको दुईवटा मोटरसाइकल नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु भएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।